बुटवल । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बुटवल उपमहानगरपालिका नगर कार्यसमिति, रुपन्देहीद्वारा आयोजित दुईदिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम कार्यक्रम २०८३ भव्य रूपमा सम्पन्न भएको छ।

समुदायको नेतृत्व क्षमता विकास, संस्थागत सुदृढीकरण तथा सामाजिक क्षेत्रमा सक्रिय सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त तालिममा प्रशिक्षकहरु आशिस तमु गुरुङ र चित्र गुरुङले प्रशिक्षकका रूपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो।
कार्यक्रममा तमु छोंज धीं रुपन्देही जिल्ला अध्यक्ष रामबहादुर गुरुङ, बुद्धिबहादुर गुरुङलगायतले मन्तव्य राख्दै समुदायको एकता, भाषा, संस्कृति, पहिचानको संरक्षण तथा नयाँ पुस्तामा नेतृत्व विकासको आवश्यकता औँल्याउनुभएको थियो।
दुई दिनसम्म सञ्चालन भएको तालिममा नेतृत्व विकास, संस्थागत जिम्मेवारी, सामाजिक उत्तरदायित्व तथा समुदायको हकहितका विषयमा प्रशिक्षण र छलफल गरिएको थियो।
तालिममा सहभागीहरूको सक्रिय सहभागिता रहेको थियो। यस्ता कार्यक्रमले समुदायभित्र सक्षम, जिम्मेवार र क्रियाशील नेतृत्व निर्माण गर्नुका साथै संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सहभागीहरूको उत्साहपूर्ण उपस्थिति र सक्रिय सहभागिताका बीच तालिम कार्यक्रम भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
