क्षेत्रीय कार्यालय उद्घाटन

 

देवदह । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं १ को क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रम देवदह नगरपालिका वडा नं ११ मा सम्पन्न भएको छ ।

क्षेत्रीय सभापति एकबहादुर सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका नेता अब्दुल रज्जाक तथा विशिष्ट अतिथि बालकुमारी भण्डारीको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्वमन्त्री, प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य अब्दुल रज्जाकले क्षेत्रीय कार्यालय उद्घाटनले पार्टीको संगठनलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले पार्टीका नेता तथा कार्यकर्ताबीच एकता, सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्दै जनताको सुखदुःखमा साथ दिने र जनताका समस्या समाधानका लागि सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो।

उहाँले नेपाली कांग्रेसलाई जनताको भरोसाको पार्टीका रूपमा स्थापित गर्न सबै नेता तथा कार्यकर्ताले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै, पार्टीको नीति, सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात् गर्दै संगठन विस्तारमा जुट्न आग्रह गर्नुभयो।

कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। क्षेत्रीय कार्यालयले पार्टीका संगठनात्मक गतिविधि, बैठक तथा आगामी कार्यक्रम सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव राजेन्द्र न्यौपानेले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस !