लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता

 

बुटवल । रुपन्देहीको देवदह–६ स्थित ब्याडमिन्टन कवर्ड हलमा आजदेखि लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। स्वतन्त्र भूपू सैनिक कल्याणकारी परिवार, देवदहको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो।

प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि तथा देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले खेलकुद स्वस्थ, अनुशासित र सभ्य समाज निर्माणको महत्वपूर्ण माध्यम रहेको बताउनुभएको छ। उहाँले खेलकुदले मानिसको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, आपसी सद्भाव र प्रतिस्पर्धात्मक भावना विकास गर्ने धारणा राख्नुभयो।

उपप्रमुख गुरुङले यस्ता प्रदेशस्तरीय प्रतियोगिताले स्थानीय तथा प्रदेशका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताउनुभयो। खेलकुद क्षेत्रको विकासका लागि स्थानीय सरकार सकारात्मक रहेको उल्लेख गर्दै उहाँले खेलाडी उत्पादन र उनीहरूको क्षमता अभिवृद्धिमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।

लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता

कार्यक्रम रतन भूपू सैनिक कल्याणकारी परिवारका अध्यक्ष विनोद कुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। संस्थाका वरिष्ठ उपाध्यक्ष खड्गबहादुर पुनको स्वागत तथा सचिव जयबहादुर पुलामीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

प्रतियोगितामा मेन्स डबल्स भेट्रान्स ४५ प्लस र मेन्स सुपर भेट्रान्स ५५ प्लस गरी दुई विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

मेन्स डबल्स भेट्रान्स ४५ प्लसतर्फ प्रथम हुने टोलीले ३० हजार रुपैयाँ, द्वितीयले २० हजार रुपैयाँ तथा तृतीय हुने दुई टोलीले जनही ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्।

त्यसैगरी, मेन्स सुपर भेट्रान्स ५५ प्लसतर्फ प्रथम हुने टोलीलाई १५ हजार रुपैयाँ, द्वितीयलाई १० हजार रुपैयाँ र तृतीय हुने दुई टोलीलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। दुवै विधाका विजेतालाई नगद पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरिनेछ।

लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिताले ब्याडमिन्टन खेलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ। प्रतियोगिताले अनुभवी खेलाडीहरूबीच प्रतिस्पर्धा गराउनुका साथै खेलाडीबीच आपसी सम्बन्ध, सद्भाव र खेलभावनाको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस !