पंचकन्या रूपन्देही सुपरलिगः तिरुपति ९ विकेटले विजयी

खेल

 

भैरहवा, बैशाख २२ । तिरुपति क्रिकेट क्लबले भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको खेलमा सहजै जित हात पारेको छ । तिरुपतिले बुटवल राइनोजमाथि ९ विकेट सहज जित निकालेको हो ।
जितका लागि पाएको ४८ रनको झिनो लक्ष्य तिरुपतिले ४ ओभर १ बलमा १ विकेटको नोक्सानीमा ५० रन बनाउँदै सहजै पूरा गर्यो र जित निकाल्यो । उसको जितमा आकाश त्रिपाठीले ३६ र सन्दीप मौर्यले १३ रन बनाए । बलिङमा बुटवलका शिव कुँवरले १ विकेट लिए ।यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवल राइनोजले मौसमका कारण ३० ओभरमा छोट्याइएको खेलमा २० ओभर २ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ४७ रन बनाएको थियो ।उसलाई सस्तैमा रोक्न तिरुपतिका अपराजित पौडेलले ४, आकाश त्रिपाठीले २ तथा मोम्मद हुसेन गद्दी, तुलराम सुनार र तुलबहादुर थापाले १–१ विकेट लिए । बुटवल राइनोजका सुरेन्द्र गन्धर्भले १६ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । खेलमा अपराजित पौडेल प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जनाए ।

प्रतिक्रिया दिनुहोस !