मणिग्रामदेखि स्याङ्जाको स्वरेकसम्म बाइक राइडिङ्

`

बुटवल । मौलिक पर्यटन सहित राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकलाई नेपालमै आकर्षित गर्ने उद्देश्यले एक अन्तर्राष्ट्रिय पर्यटन कम्पनीले मणिग्राम देखि स्याङ्जाको स्वरेकसम्मको बाइक राइडिङ् कार्यक्रम सफल पारेको छ ।

रूपन्देहीको मणिग्राममा मुख्य कार्यालय रहेको ट्रेल–ब्लेजर्स नेपालद्वारा आयोजित स्वरेक मैदान राइड (मोटरसाइकल सवारी) सफलतापूर्वक सम्पन्न गरेको हो ।

स्थानीय संस्कृति, प्राकृतिक विविधता, सामाजिक विविधता, रोमाञ्चक एवम् साहसिक अनुभूति लगायतको सन्देश राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय पर्यटकसम्म पु¥याउनका लागि यो कार्यक्रम गरिएको ट्रेलब्लेजर्स नेपालका प्रमुख भरत सुवेदीले जानकारी दिनुभयो ।

दुई दिनमा समापन भएको सो राइडमा विभिन्न स्थानका १५ जना मोटरसाइकल चालकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

मणिग्राम, रुपन्देहीबाट सुरू भएको सो राइड बुटवल, तानसेन, वालिङ हुँदै स्वरेक मैदान सम्म पुगेको थियो । दुईदिने यात्राका सहभागीहरूले रोमाञ्चकता, प्राकृतिक सौन्दर्य र आपसी भाइचारा अनुभव गरेको सहभागी गणेश भुसालले बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूलाई फोटोग्राफी तथा भिडियो, मेकानिकल सेवा, इन्धन, बसोबास तथा थ्री–कोर्स भोजनको सुविधा प्रदान गरिएको थियो । प्रत्येक राइडरलाई प्रमाणपत्र र सम्झनाको रूपमा टी–शर्ट समेत वितरण गरिएको थियो ।

ट्रेलब्लेजर्स नेपालको सो अभियानलाई आफ्नै अभियान ठानेर स्वागत–सत्कार एवम् हार्दिकता दर्शाएका हजारौं नागरिकहरू प्रति कृतज्ञता सहित सहयोगी सबैमा आभार व्यक्त गरेको समेत प्रमुख सुवेदीले उल्लेख गर्नुभयो । पहिलो कार्यक्रममै अधिक हौसला मिलेको भन्दै आगामी महिनाहरूमा थप रोमाञ्चक राइड तथा साहसिक कार्यक्रमहरूको समेत उहाँले घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !