प्रथम शहीद क्या. लखन थापामगर अक्षयकोष २०५६ रुपन्देहीको १३ औं साधारण सभा सम्पन्न

शहीदहरुले देखाएको बाटोमा हिड्नुपर्ने कुरामा जोड

 

१५ असोज । बुटवल । प्रथम शहीद क्या. लखन थापामगर अक्षयकोष २०५६ समिति रुपन्देहीले १३ औं साधारण सभा सम्पन्न गरेको छ । समितिका अध्यक्ष थर्क बहादुर बारघरे मगरको अध्यक्षतामा बिहिबार बुटवलमा सम्पन्न साधारण सभामा बोल्ने वक्ताहरुले शहीदहरुले देखाएको बाटोमा हिड्नुपर्ने कुरामा जोड दिएका छन् । वक्ताहरुले बोल्ने क्रममा शहीदहरुको सपना र त्यागलाई अवमूल्यन गर्न नहुने कुरामा जोड दिदै आजको आवश्यक्ता शहीदहरुहरुको सपना पुरा गर्नु नै शहीदहरुप्रतिको सच्चा सम्मान हुने कुरामा जोड दिएका हुन् ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालले लखन थापा मगरले हिजोको दिनमा निरङ्कुस सत्ता विरुद्ध गरेको विद्रोह सम्पूर्ण नेपाली जनताको विद्रोह भएको बताउनु भएको छ । थापाले मगर समुदायका लागि मात्र नभई सम्पूर्ण नेपाली जनताको मूक्तिका लागि पहिलोपटक प्राण आहुती गरेकाले सरकारले उनलाई यथोचित रुपमा सम्मान दिनुपर्ने बताउनु भयो । वक्ताहरूले प्रथम शहीद क्या. लखन थापा मगरलाई राज्यले विभेद् गरेको आरोप लगाएका छन् । शहीद थापालाई राज्य र सरकारको तर्फबाट गर्नुपर्ने सम्मान र स्थान प्रदान नगरीएको कुराप्रति अगुवाहरुको आरोप छ । कार्यक्रमलाई नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य लाल बहादुर थापा मगर, नेपाल मगर महिला संघ केन्द्रीय समितिका महासचिव चन्दा थापा मगर, नेपाल मगर संघ बुटवल उपमहानगर समितिका उपाध्यक्ष हेमन्त बुढाथोकी मगर, समाजसेवी प्रेम गलामी मगर लगायतले बोल्नु भएको थियो । कार्यक्रममा कोषका उपाध्यक्ष भोम बहादुर बुढामगर, सचिव हेम बहादुर आले, मगर संघ रुपन्देहीका सचिव राधिका श्रीस मगरले लगायतले बोल्नु भएको थियो । सभाले कोषको वार्षिक आयव्यय समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस !