देवदहमा प्रथम युवा उद्यम प्रवर्द्धन कार्यक्रम सम्पन्न

युवा उद्यम

 

देवदह । युवालाई उद्यमशीलतामार्फत आत्मनिर्भर बनाउने उद्देश्यले देवदह नगरपालिका वडा नं ५ को आयोजनामा प्रथम युवा उद्यम प्रवर्द्धन कार्यक्रम–२०८३ सम्पन्न भएको छ।

‘नेपालमै सम्भव छ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा देवदह नगरपालिका वडा नं ५ का अध्यक्ष गणेश डुम्रेको अध्यक्षता रहेको थियो। कार्यक्रममा देवदह नगरपालिकाकी नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ प्रमुख अतिथिले युवाहरू देशको भविष्य हुन्। युवालाई रोजगारी खोज्ने मात्र होइन,आफैं उद्यम सञ्चालन गरेर रोजगारी सिर्जना गर्न सक्ने वातावरण बनाउन आवश्यक छ। स्थानीयस्तरमा उपलब्ध स्रोत, साधन, सीप र सम्भावनालाई सदुपयोग गर्दै युवाहरू उद्यमशीलतामा जोडिनुपर्छ।

देवदहमा आयोजना गरिएको यो युवा उद्यम प्रवर्द्धन कार्यक्रमले युवाहरूलाई नयाँ सोचका साथ अघि बढ्न प्रेरणा दिने विश्वास लिएको छु। ‘नेपालमै सम्भव छ’ भन्ने भावना विकास गर्दै युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताउनु भयो ।

नगरपालिका युवाको सीप, क्षमता र उद्यमशीलता विकासका लागि आवश्यक सहयोग र सहकार्य गर्न प्रतिबद्ध छ। आजको प्रशिक्षणबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्दै सफल उद्यमी बन्न सबै युवाहरूलाई शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा देवदहका प्रथम नगर प्रमुख हिरा बहादुर खत्री तथा देवदह नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा प्रमुख प्रशिक्षक मनोज ज्ञवालीले युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न आवश्यक ज्ञान, सीप र अवसरका विषयमा प्रशिक्षण दिनुभएको थियो। त्यस्तै प्रशिक्षक रोहित भण्डारीले युवा उद्यम तथा व्यवसाय प्रवर्द्धनका विभिन्न पक्षबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो।

देवदह नगरपालिका वडा नं ५ आयोजक तथा समृद्धि समुदाय केन्द्र सहआयोजक रहेको कार्यक्रममा युवालाई रोजगारी खोज्नेभन्दा आफैं उद्यम सञ्चालन गरी रोजगारी सिर्जना गर्न सक्ने बनाउने उद्देश्यमा जोड दिइएको थियो।

कार्यक्रममा स्थानीय स्तरमा उपलब्ध स्रोत, साधन र सीपको सदुपयोग गर्दै युवालाई उद्यमशील बनाउन सकिने सम्भावनाबारे छलफल तथा प्रशिक्षण प्रदान गरिएको थियो। सहभागीहरूले उद्यम सञ्चालनका लागि आवश्यक ज्ञान, योजना निर्माण, व्यवसाय व्यवस्थापन तथा स्थानीय अवसरका विषयमा जानकारी प्राप्त गरेका थिए।

कार्यक्रमले देवदहका युवामा उद्यमशील सोचको विकास गर्नुका साथै ‘नेपालमै सम्भव छ’ भन्ने अवधारणालाई व्यवहारमा उतार्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमको स्वागत मन्तव्य होमनाथ भट्टराईले दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन नारायण भण्डारीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस !