बुटवल । भोटेकोशीमा आएको भीषण बाढीका कारण ज्यान गुमाएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै बुटवलमा दीप प्रज्वलन गरिएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीको अगुवाईमा विभिन्न संघ संस्थाहरुले बुटवल स्थित लखनचोक चौराहामा दीप प्रज्वलन गरेका हुन् । गत भदौ १० गते भोटेकोशी नदीमा अचानक आएको बाढीका कारण रसुवा, नुवाकोट र धार्दीङ लगायतका जिल्लामा बाढीमा परेर अकालमै ज्यान गुमाएका मानिसहरुको आत्माको चीर शान्तिका लागि कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको आयोजक नेपाल मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष थर्क बहादुर बारघरे मगरले जानकारी दिनुभयो । संघका अध्यक्ष थर्क बहादुर बारघरे मगरका अनुसार रुपन्देहीमा क्रियाशिल विभिन्न मगर संघ संस्थाहरुले बाढीका कारण समस्यामा परेका मानिसहरुको उद्वार र राहतका लागि प्रधानमन्त्री राहात कोषमा रकम जम्मा गर्ने तयारी गरिएको समेत जानकारी दिनुभयो ।

सो अवसरमा बोल्ने वक्ताहरुले बाढीमा बेपत्ता नागरिकहरुको खोजीकार्यमा तिब्रता दिदै घाइते र घरवास गुमाएका परिवारहरुको पुर्नस्थापनाका लागि सरकारले द्रुत गतिमा काम गर्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा दुःखको घडिमा सम्पूर्ण नेपाली जनता एकजुट भएर बिपत्तीमा परेका परिवारलाई सहयोग गर्न समेत आह्वान गरिएको आयोजकले जानकारी दिएको छ । सो अवसरमा नेपाल मगर संघका केन्द्रीय सदस्य सनु थापा, लुम्बिनी प्रदेश सदस्य लाल बहादुर थापा, नेफिन रुपन्देही अध्यक्ष आसा गुरुङ, फोनिज रुपन्देही अध्यक्ष मीन राना, तमुह्युल छोेंजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देही अध्यक्ष राम बहादुर गुरुङ लगायत सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बुटवल उपमहानगर समन्वय परिषद्, नेपाल मगर महिला संघ बुटवल, नेपाल मगर युवा संघ, नेपाल मगर विद्यार्थी संघ, तमुहयुल छोंजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देही, फोनिज रुपन्देही लगायतका संघ संस्थाहरुको सहभागितामा दीप प्रज्वलन गरिएको थियो ।




