२३ साउन, देवदह । नेपाल आदिवासी जनजाति महासंघ देवदह नगर समन्वय परिषद्को चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघ देवदह नगर समितिको आयोजनामा ३२ औं विश्व आदिवासी दिवसको अवसर पारेर आयोजित अन्तरक्रिया तथा चौथो अधिवेशन नयाँ नेतृत्व चयन गर्दे शुक्रबार देवदहमा सम्पन्न भएको हो ।
अधिवेशनले मनबहादुर थारुलाई अध्यक्षमा चयन गरेको छ । त्यसैगरि उपाध्यक्षमा गोपाल मान तमु, सचिव रिता थापा मगर, सहसचिव मिलन कुमार राना, कोषाध्यक्ष अनिल श्रेष्ठ र सदस्यहरुमा सुमित्रा श्रेष्ठ र टेकमाया गुरुङ सर्वसम्मत चयन भएको निर्वाचन मण्डलका संयोजक दलबहादुर बिरकट्टा मगरले जानकारी दिनुभयो । निर्वाचन मण्डलका सदस्यहरु भीमप्रसाद गुरुङ र सदस्य शोभाकुमारी थापा रहनु भएको थियो ।
निर्वाचन अघि आयोजित कार्यक्रममा नेफिन नगर समिति देवदहकी अध्यक्ष मीना श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवदह नगरपालिकाकी उपप्रमुख विद्या लक्ष्मी गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । आयोजित कार्यक्रममा विभिन्न जातीय संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता तथा आदिवासी जनजाति समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले आदिवासी जनजातिहरूको भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले आदिवासी जनजातिहरूको हक, अधिकार र सांस्कृतिक सम्पदाको संरक्षणका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै स्थानीय तहबाट जनजातिका मुद्दाहरूलाई प्राथमिकताका साथ सम्बोधन गरिने र क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा राप्रपाका झगरीलाल, नेपाली कांग्रेस देवदह नगर अध्यक्ष गुणाखर भुर्तेल, रास्वपा नगर अध्यक्ष बलबहादुर श्रेष्ठ, थारु कल्याणकारी सभाको तर्फबाट मनबहादुर थारु, नेपाल आदि जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका अध्यक्ष मिन राना, नेपाल आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष आशिष गुरुङ्ग र नेपाल मगर सङ्घ केन्द्रीय लेखा समिति सदस्य जसबहादुर पुन लगायतले आदिवासी जनजाति समुदायको अधिकार, समावेशी विकास, सामाजिक न्याय तथा सांस्कृतिक संरक्षणका विषयमा आ–आफ्ना धारणा राख्दै समुदायबीच एकता र सहकार्यको आवश्यकता औँल्याउनुभएको थियो।
यसैबीच नवनिर्वाचित कार्यसमितिले आदिवासी जनजाति समुदायको हक, अधिकार, भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्दै समुदायको समग्र विकासका लागि सक्रिय र प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
कार्यक्रमले विश्व आदिवासी दिवसको सन्देशलाई आत्मसात गर्दै आदिवासी जनजाति समुदायको एकता, अधिकार र पहिचान सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्। अन्तरक्रियामा पत्रकार तथा प्रस्तोता राम बहादुर गुरुङले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । आयोजित कार्यक्रम परिषद्का उपाध्यक्ष दिनेश चौधरीको स्वागत तथा सचिव सुरेन्द्र चौधरीको सञ्चालनमा सम्पन्न् भएको थियो ।




