३२ औं विश्व आदिवासी दिवसको अवसरमा अन्तरक्रिया

२२ साउन, बुटवल । नेपाल आदिवासी जनजाति महासंघ उपमहानगर समन्वय परिषद् बुटवलले ३२ औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजातिका सवालमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । दिवसको पूर्वसन्ध्यामा महासंघले शुक्रबार बुटवलमा सरोकारवालाहरुका बीचमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा बोल्ने वक्ताहरुले आदिवासी जनजातिका सवाल र मुद्दाहरु पहिचान, संघीयता, धर्मनिरपेक्षता र समावेशी जस्ता विषयहरु खोसिन लागेको प्रति चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा वक्ताहरुले गणतन्त्रको मूल मर्मलाई मास्ने गरि षड्यन्त्र भइरहेको प्रति समेत आशंका व्यक्त गरेका छन् । हालै सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गरेर जनजातिका अधिकार खोस्ने कार्यका सुरुवात गरेकाले जनजाति अगुवाहरुले चिन्ता व्यक्त गरेका हुन् । वक्ताहरुले जनजातिका अधिकार खोस्ने र मास्ने दुषप्रयास नगर्न चेतावनी समेत दिएका छन् ।

कार्यक्रममा नेपाल मगर संघका पूर्व केन्द्रीय उपाध्यक्ष गीता सारु, नेपाल आदिवासी जनजाति महासंघ रुपन्देही समन्वय समितिका उपाध्यक्ष अरुणा श्रेष्ठ, सल्लाहकारहरु सनु थापा, शिब प्रसाद शेरचन, नेपाल मगर संघ बुटवल उपमहानगर समिति उपाध्यक्ष हेमन्त बुढाथोकी, थारु कल्याणकारिणी सभा बुटवलका उपाध्यक्ष माधव डंगोरिया थारु, नेपाल छन्त्याल संघका केन्द्र्रीय सदस्य योगेन्द्र छन्त्याल, नेवादय दवु बुटवल उपमहानगर समिति अध्यक्ष सुन्दर श्रेष्ठ लगायतले बोल्नु भएको थियो । कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ बुटवल उपमहानगर समन्वय परिषद्का अध्यक्ष अरुण कुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष गोपाल चोहान मगरको स्वागत तथा सचिव शम्भू मोक्तानको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !