बुटवल, ३१ जेठ । नेपाल मगर संघ बुटवल उपमहानगर समितिद्वारा सञ्चालित मगर ढुट भाषा तालिमको एक कार्यक्रमका बीच समापन गरिएको छ । बुटवल उपमहानगरपालिकाको सहकार्यमा एक महिनासम्म सञ्चालन गरिएको तालिमको शनिबार एक कार्यक्रमका बीच बुटवलमा समापन गरिएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमूख खेलराज पाण्डेयले मगर भाषालाई पछिल्लो प्रविधि र आइटीको प्रयोग गरेर सबैले अनलाइन र इन्टरनेटबाट सजिलै सिक्न सक्नेगरि विकास गर्न आवश्यक रहेको कुरामा जोड दिनुभएको छ । अहिलेको समय प्रविधि र एआइमैत्री भएकाले अब मान्छे जम्मा भएर नभई घरै बसेर भाषा सिक्ने र सिकाउनेतर्फ लाग्नुपर्नेमा उहाँको सुझाव छ । भाषा र संस्कार संस्कृतिको संरक्षण र प्रवद्र्धनको जिम्मा राज्यको रहेको बताउँदै नगरप्रमूख पाण्डेयले यसको संरक्षणका लागि बुटवल उपमहानगरले विविध आरोपका बीच कुनै कसर बाँकी नराखी कार्य गरिरहेको समेत बताउनुभयो । भौतिक विकासले समुदाय र समाज समृद्ध नबन्ने जिकीर गर्दै उहाँले यहाँको स्थानीय विविधता र बहुलता नै राष्ट्रको मूख्य सम्पत्ती भएकाले यसको संरक्षण आवश्यक रहेको उहाँको भनाई थियो । नगरप्रमूख खेलराज पाण्डेयले मगर समुदाय लगायतका विभिन्न समुदाय भित्र रहेको परम्परागत मदिरा उत्पादन सीपलाई अब व्रान्डिङ गर्नुपर्ने धारणा राख्नुभएको छ । यसको वैधता र ब्रान्डिङ गर्न सकिएमा अस्वस्थकर, आयातित र अत्यधिक महंगा मदिराहरुलाई विस्थापित गर्न सकिने उहाँको तर्क थियो ।

सो अवसरमा कार्यक्रमका अर्का वक्ता बुटवल उपमहानगरपालिकाका उपप्रमूख सावित्रादेवी अर्यालले बोल्दै आगामी आवमा पनि समुदायका भाषा र स्थानीय सीप विकासका लागि बजेट तथा कार्यक्रम नगरले ल्याउने आश्वासन दिनुभएको छ । स्थानीय समुदायगत सीपले महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार समेत बनाउने भएकाले रैथाने सीपको संरक्षणका साथै यसलाई आर्थिक उपार्जनको माध्यम बनाउन आग्रह गर्नुभएको छ । तालिममा सिकेका ज्ञान र सीपलाई अभ्यासमा जोड दिन समेत उहाँको आग्रह छ । कार्यक्रममा नेपाल मगर संघका नवनिर्वाचित केन्द्रीय सदस्य सनु थापामगर, नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य लाल बहादुर थापामगर, नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष थर्क बहादुर बारघरेमगर, नेपाल मगर संघ बुटवल उपमहानगर पूर्व अध्यक्ष गोपाल बहादुर चोहान मगर, नेपाल मगर संघ बुटवल उपमहानगर समिति वडा नं १४ का अध्यक्ष शिब थापामगर, प्रशिक्षार्थीहरु युवा सिंजालीमगर, रिता अर्घालीमगर, सविना पुनमगर र इम बहादुर सारुमगरले आफ्नो मन्तव्य राख्नुभएको थियो । तालिममा प्रथम हुने विनु थापामगर, दोश्रो हुने युवा सिंजालीमगर, तेश्रो हुन सफल इम बहादुर सारुमगर, सान्त्वना द्वय शान्ति थापामगर र चन्द्रा कुमारी थापामगरलाई सम्मान तथा पुरस्कार प्रदान गरिनुका साथै प्रशिक्षक आकृति थापामगरलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष लुम बहादुर सारुमगरको अध्यक्षता, उपाध्यक्ष हेमन्त बुढाथोकी मगरको स्वागत तथा सचिव खिमा रानामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।



