राष्ट्रिय जनमुक्ति पार्टीले मनायो आफ्नो ३६ औं स्थापना दिवस

पार्टीले ‘बहुआयामिक वर्ष २०८३ महाअभियान सञ्चालन गर्ने’

२३ बैशाख, बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले आफ्नो ३६ औं स्थापना दिवस विविध कार्यक्रम सहित देशैभर मनाएको छ । यसैबीच राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश समितिले बर्दघाट नवलपरासीमा बुधबार एक समारोहका बीच पार्टीको ३६ औं स्थापना दिवस मनाएको हो । सो अवसरमा आयोजित पत्रकार भेटघाटमा सञ्चारकर्मीहरुलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष केशब बहादुर थापामगरले राष्ट्रिय जनमुक्ति पार्टीले ‘बहुआयामिक वर्ष २०८३ महाअभियान’ सञ्चालन गर्न लागेको जानकारी दिनुभएको छ । अध्यक्ष थापाका अनुसार राष्ट्रिय जीवनका लागि र पार्टी जीवनका लागि महाअभियान सञ्चालन गर्न लागिएको हो । अभियान अन्तर्गत पार्टीको सुदृढिकरण र शुुद्धिकरण तथा राष्ट्रिय सवालमा समेत महत्वपूर्ण कार्यहरु सञ्चालन गर्ने कार्ययोजना बनेको जानकारी दिनुभयो । यस अभियानका सम्बन्धमा बिस्तृत रुपमा आउँदो गणतन्त्र दिवसको सन्दर्भ पारेर पार्टीले सार्वजनिक गर्ने उहाँको भनाई थियो । वर्तमान सरकारको सन्दर्भमा टिप्पणी गर्दै राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशब बहादुर थापाले सुकुम्वासी व्यवस्थापन गर्ने नाममा सरकारले हालै गरेका कार्यहरुले सरकारको अपरिपक्वता प्रदर्शित भएको बताउनुभयो । वर्तमान सरकारका सन्दर्भमा उहाँले यसबाहेक अहिले नै पार्टीले हतारमा अन्य कुनै पनि धारणा सार्वजनिक नगर्ने तर सरकारको एक सय दिन पश्चात पार्टीले आफ्नो आधिकारिक रुपमा सरकारबारे सार्वजनिक रुपमा धारणा प्रस्तुत गर्ने घोषणा गर्नुभएको छ । पार्टी अध्यक्ष थापाले राष्ट्रिय जनमुक्ति पार्टीका सन्दर्भमा बोल्नेक्रममा केही स्वार्थ समूहहरुका कारण पार्टी अन्य दलहरुसंग विलिन हुन जाने खालका गतिविधि हुन थालेपछि पार्टीको ३६ वर्षे गौरवपूर्ण यात्रा र ८ वटा निर्वाचन लडेको जनविरासतलाई जोगाउनका लागि आफ्नो नेतृत्वमा पार्टीलाई अगाडि बढाईएको स्पस्टिकरण दिनुभएको छ । उहाँले आजको दिनसम्मका नेतृत्वहरुले सुविधाजनक राजनीति गरेको तर्फ इङ्गित गर्दै अब पार्टीअभियान शहर केन्द्रीत मात्र नभई गाउँ र दुर्गम भूगोल तर्फ सांगठनिक अभियान सहित अगाडि बढ्ने बताउनुभएको छ ।
सो अवसरमा राष्ट्रिय जनमुक्ति पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङले सञ्चारकर्मीमाझ एक विज्ञप्ति पेश गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले पञ्चायती शासनको अन्त्य पश्चात वि.स. २०४७ सालमा वैकल्पिक राजनीति अर्थात तेस्रो धारलाई अगाडि बढाउँदै नेपाललाई संघीय व्यवस्था, धर्मनिरपेक्ष, समानुपातिक प्रतिनिधित्व, नेपाली शैलीको औद्योगिक क्रान्ति, भ्रष्टाचारीलाई देशद्रोह सरहको अपराध घोषणा लगायत सिमान्तकृत वर्ग र समुदायका लागि आवाज उठाउँदै आइरहेको जिक्र गर्नुभएको छ ।

यसबोहक विज्ञप्तिमा ‘जेन जि’ को नाममा भएको आन्दोलनपछिको निर्वाचन पश्चात बनेको सरकारलाई सुझाव समेत समेटिएको छ । मूलुकलाई भ्रष्टाचारमूक्त बनाउने, युवाशक्ति विदेश पलायनबाट रोक्ने, मूलुकको परनिर्भरता हटाउने जस्ता सुझावहरु गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । सो अवसरमा पार्टीका केन्द्रीय नेताहरु टोप अस्लामी, डाक्टर हाजी मोहम्मद हसन्,अशोक पुन, होमाया गुरुङ, क्या भीम बहादुर राना, डब गर्बुजा,  हरिदेव थापा, बालकिशोर राना, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ, लुम्बिनी प्रदेशका नेताहरु नरजङ्ग गुरुङ, चित्र बहादुर गुरुङ लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !