सिर्जनाको न्यायका लागि आवाज ः मगर संघ लुम्बिनी प्रदेशको बैठकबाट विभिन्न महत्वपूर्ण निर्णय

मगर संघ

अर्घाखाँची, चैत २४ । नेपाल मगर संघ, लुम्बिनी ९मगरात० प्रदेश समितिको सचिवालय बैठक आज अर्घाखाँचीको शितगंगा नगरपालिका–८, सातमारामा सम्पन्न भएको छ। संघका अध्यक्ष खलुप्रसाद पुन मगरको अध्यक्षतामा बसेको उक्त बैठकले सिर्जना बुढा मगरको मृत्यु प्रकरणमा न्याय सुनिश्चित गर्न जोडदार आवाज उठाउँदै विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।

बैठकमा प्रदेश समितिका पदाधिकारी, सदस्यहरू तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकमा ११ वटा विभिन्न प्रस्तावमाथि छलफल गरी निर्णयहरू गरिएको थियो।

विशेषगरी बाँके जिल्लामा भएको सिर्जना बुढा मगरको मृत्यु प्रकरणप्रति गम्भीर चासो व्यक्त गर्दै बैठकले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ। हालसम्म तीनजना पक्राउ परिसकेको सन्दर्भमा कुनै दबाब वा प्रभाव बिना सत्यतथ्य बाहिर ल्याई दोषीलाई कडा कानुनी कारबाही गर्न प्रदेश समितिले निरन्तर खबरदारी गर्ने निर्णय गरेको छ। साथै, यस विषयमा सम्बन्धित प्रदेश मन्त्रालयमा ज्ञापनपत्र बुझाउने निर्णय पनि गरिएको छ।

त्यसैगरी, नेपाल मगर संघको १३औँ राष्ट्रिय महाधिवेशन २०८३ जेठ ८ देखि १० गतेसम्म काठमाडौंमा आयोजना हुने जानकारी दिँदै सो महाधिवेशनका लागि प्रदेश समितिका सबै पदाधिकारी तथा सदस्यहरूले अनिवार्य रूपमा आजीवन सदस्यता लिनुपर्ने निर्णय गरिएको छ।

प्रदेश समितिको सम्पर्क कार्यालय स्थापना गर्न देउखुरी क्षेत्रमा कोठा खोजी भइरहेको र त्यसको अन्तिम अनुमोदन आगामी बैठकले गर्ने जनाइएको छ। साथै, मगर समुदायको सांस्कृतिक संरक्षण र प्रवर्द्धनका लागि बहुउद्देश्यीय भवन निर्माण गर्ने उद्देश्यले आगामी असार १ गते देउखुरीमा बृहत् भुमे नाच कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ।

बैठकले लखन सांस्कृतिक संग्रहालय निर्माणका लागि आवश्यक सहयोग समन्वय गर्ने, बाँकी आर्थिक दायित्वहरू उठाउने, भ्रातृसंघहरूको गठन तथा पुनर्गठन वैशाख २०८३ भित्र सम्पन्न गर्ने लगायतका निर्णयहरू पनि गरेको छ।

त्यसैगरी, प्रदेशभरका मगर समुदायका सदस्यहरूको विवरण संकलन गर्ने, मगर भाषाबाट अपभ्रंश भएका स्थाननामहरूको खोजी गर्ने र प्रत्येक मगर घरमा संघको झण्डा राख्ने अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ। बैठकले आगामी पूर्ण बैठक २०८३ वैशाख १२ गते पाल्पा जिल्लामा बस्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस !