बुटवल । रूपन्देही उद्योग संघले समस्यामा परेका उद्योगहरूको स्थलगत भ्रमण गर्दै उद्योगीका गुनासा र चुनौतीबारे अन्तरसंवाद सुरु गरेको छ । उद्योग क्षेत्रमा देखिएका कच्चा पदार्थको अभाव, बढ्दो मूल्यवृद्धि, निर्यातमा जटिलता, पटक–पटक विद्युत् लाइन काटिने समस्या लगायतका विषयमा संघले उद्योगीहरूसँग प्रत्यक्ष छलफल थालेको हो ।
संघले अभियानको सुरुआत रूपन्देहीको मैनहियामा सञ्चालित नेपालकै सबैभन्दा ठूलो र एक मात्र फ्रेन्च फ्राइ उत्पादक उद्योग ‘फस्ट च्वाइस फुड्स प्रा।लि।’को अवलोकन गरेको छ । संघका पदाधिकारीहरूले उद्योगको उत्पादन प्रक्रिया, कच्चा पदार्थ आपूर्ति, निर्यात अवस्था तथा सञ्चालनमा देखिएका समस्या बारे जानकारी लिएको हो ।
संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले उद्योग सञ्चालनमा देखिएका नीतिगत समस्याका विषयमा संघले निरन्तर पैरवी गर्दै आएको बताउनुभयो । वहाले नेपाल उद्योग परिसंघको सहकार्यमा समस्या समाधानका लागि संघले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । अध्यक्ष पराजुलीले उद्योगीहरूलाई आफ्नो समस्या संस्थागत रूपमा संघमा जानकारी गराउन आग्रह गर्दै अधिकांश उद्योगका समस्या समान प्रकृतिका भएकाले सामूहिक रूपमा समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
संघका महासचिव सुमन बस्यालले उद्योगीहरूको समस्या समाधानका लागि संघले अभियानकै रूपमा उद्योग भ्रमण सुरु गरेको बताउनुभयो । विशेषगरी निर्यातजन्य उद्योगहरूले भोगिरहेका नीतिगत समस्या समाधानका लागि संघले संस्थागत पहल गर्ने उल्लेख गर्नुभयो । उद्योग क्षेत्रलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको वहाँकोे भनाइ थियो ।
उद्योगका सञ्चालक कृष्ण प्रसाद पौडेलले आयात प्रतिस्थापन गर्दै निर्यातमुखी उत्पादन गर्ने लक्ष्यसहित उद्योग सञ्चालन गरिएको बताउनुभयो । वहाँले उद्योगमा हालसम्म दुई अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको जानकारी दिनुभयो । निर्यातमा कानुनी जटिलता रहेको उल्लेख गर्दै वहाको आलु उत्पादन वृद्धि गर्न सरकारी नीति कमजोर रहेको गुनासो गर्नुभयो । उद्योगले किसानलाई बजारको ग्यारेन्टी दिन बजार मूल्यभन्दा बढी मूल्यमा आलु खरिद गरिरहेको समेत बताउनुभयो ।
उद्योगका प्रबन्धक लक्ष्मी पौडेलले विश्व बजारमा प्रवेश गरेपछि उत्पादनको सम्भावना बढेको बताउनुभयो तर, निर्यातमा देखिएका कानुनी जटिलता सहज बनाउनु पर्नेमा वहाँले जोड दिनुभयो । खुल्ला सिमानाका कारण कम गुणस्तरका भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्दा समस्या भएकाले सम्वन्धित निकायको ध्यान जानुपर्ने वहाँले बताउनुभयोे । रूपन्देही क्षेत्र आलु उत्पादनका लागि निकै उपयुक्त माटो रहेको उल्लेख गर्दै किसानलाई बजारको ग्यारेन्टीबारे थप जानकारी गराउन आवश्यक रहेको समेत वहाँले बताउनुभयो । ठूलो परिमाणमा उत्पादन वृद्धि गर्न किसान, उद्योग र सरकारबीच सहकार्य आवश्यक रहेको वहाकोे भनाइ थियो । गुणस्तरलाई विशेष ध्यान दिँदै उद्योग सञ्चालन गरिएको बताउनुहुदै वहाले कृषक,उद्योग र राज्यको सामुहिक प्रयास अपरिहार्य रहेकोमा जोड दिनुभयोे ।
संघले आगामी दिनमा अन्य समस्यामा परेका उद्योगहरूको पनि भ्रमण गर्दै उद्योग क्षेत्रका साझा समस्या संकलन गरी समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने योगदान तय गरेको छ । । उद्योग क्षेत्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्र र सरकारबीच समन्वय आवश्यक रहेको संघको निष्कर्ष रहेको छ ।




