फागुन १५, बुटवल । विश्वभर छरिएर रहेका मगर समुदायले ४४ औं मगर दिवस (फागुन १५) मनाएका छन् । नेपाल मगर संघको अगुवाईमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन सहित शुक्रबार दिवस मनाएका हुन् । रुपन्देहीका विभिन्न पालिका तथा नगरहरुमा स्थानीय रुपमा मगर दिवस मनाइएको नेपाल मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष थर्क बहादुर बारघरेले जानकारी दिनुभयो । दिवसको अवसरमा नेपाल मगर संघ बुटवल उपमहानगर समितिले मूल समारोहको आयोजना गरेर बाजेबजै थान बुटवलमा कार्यक्रम गरिएको संघका अध्यक्ष लुम बहादुर सारुले जानकारी दिनुभयो । कार्यक्रम बुटवल उपमहानगरका नगर प्रमूख खेलराज पाण्डेयको प्रमूख आतिथ्यता, उपाध्यक्ष हेमन्त बुढाथोकी मगरको स्वागत तथा सचिव खिमा रानामगरको सञ्चालनमा सम्पन्न भएको थियो । यसैबीच नेपाल मगर संघ तिलोत्तमा नगर समितिले तिलोत्तमा १३ स्थित करौजीयामा मगर दिवस विविध सांस्कृतिक कार्यक्रम सहित मनाइएको संघका तिलोत्तमा नगर अध्यक्ष कृष्ण सारुमगरले जानकारी दिनुभयो । कार्यक्रम संघका उपाध्यक्ष शान्ती चिडिको स्वागत तथा सचिव भेल बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रीति आलेमगर लगायत राष्ट्रिय कलाकारहरुको प्रस्तुतीका साथमा स्थानीय कलाकारहरुको सोरठी, कौरा, सालैजोको नृत्य समेत राखिएको थियो । रुपन्देहीका सैनामैना, शुद्धोधन, सिद्धार्थनगर, देवदह, सियारी, ओमसतिया लगायतका पालिकाहरुमा दिवस मनाइएको नेपाल मगर संघका रुपन्देही जिल्ला सचिव राधिका श्रीसले जानकारी दिनुभयो ।





