१३ फागुन, बुटवल । मगर दिवसको अवसरमा यहि फागुन १५ गते बुटवल उपमहानगरपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको छ । बुटवल उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै बिदाको जानकारी दिएको हो । बुटवल उपमहानगरपालिका अन्तर्गतका वडा का¥यालयहरु, स्वास्थ संस्थाहरु एवं शिक्षण संस्थाहरुमा समेत स्थानीय सार्वजनिक बिदा दिइएको बुटवल उपमहानगरपालिकाका नगर प्रमूख खेलराज पाण्डेयले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ । अघिल्लो वर्षमा पनि मगर दिवसको अवसरमा बुटवल उपमहानगरले सार्वजनिक बिदाको घोषणा गरेको थियो । वि.स.२०७८ को जनगणना अनुसार बुटवल उपमहानगरमा ३६ हजार चार सय ५३ मगरको जनसंख्या रहेको छ । यसपटक ४४ औं मगर दिवसको अवसरमा रुपन्देहीका मगर समुदायले विभिन्न कार्यक्रमहरु गरेर दिवस मनाउने तयारी गरेका छन् । यसैबीच नेपाल मगर संघ बुटवल उपमहानगर समितिले बुटवल ७ स्थित बाजेबजै थान परिसरमा मूल समारोह गरेर दिवस मनाउने तयारी गरेको अध्यक्ष लुम बहादुर सारुले जानकारी दिनुभएको छ ।




