
२८ साउन, बुटवल । आदिवासी जनजाति लगायत उत्पीडनमा परेका वर्ग र समुदायका मुद्दा र सवालहरु ओझेलमा पर्नुका साथै मृत अवस्थामा पुगेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले २६ औं फोनिज स्थापना दिवसको अवसरमा मंगलबार बुटवलमा आयोजना गरेको एक अन्तरसंवाद तथा छलफलमा सहभागी वक्ताहरुले सो कुरा बताएका हुन् । ‘आदिवासी जनजाति नेतृत्व, सवाल र स्थानीय मिडिया’ विषयक अन्तरसंवादमा धारणा राख्दै उनीहरुले संगठनका नेतृत्वहरु अधिकार र मुद्दाहरुमा भन्दा दलीय तथा राजनीतिक स्वार्थमा लाग्ने, असक्षम र अनुत्तरदायी नेतृत्व हुँदाको परिणाम हाल आएर आदिवासी जनजातिका आन्दोलन लगायत अधिकार र पहिचानका सवालहरु निष्क्रिय तथा मृत अवस्थामा पुगेको धारणा राखेका हुन् ।
केहि राजनीतिक दलहरुले आदिवासी जनजाति समुदायका संगठनमा आबद्ध संगठित शक्तिलाई क्षीर्ण पार्न सुनियोजित ढंगबाट आफ्ना कार्यकर्ताहरु परिचालन गरेर जनजातिका सवालहरुलाई निस्तेज पार्न खोजेको समेत उनीहरुले गुनासो गरेका छन् । यस्ता विषयलाई आदिवासी जनजाति समुदायले गहिरो गरि बुझ्न र यस विषयमा मिडियाले भूमिका खेल्नुपर्नेमा समेत उनीहरुले जोड् दिएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका अध्यक्ष मीन रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका निवर्तमान अध्यक्ष एवं लुम्बिनी प्रदेश महासचिव सनु थापामगर, महासंघकै लुम्बिनी प्रदेश सदस्य निर्मल एसपी मगर, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीका अध्यक्ष चित्र तुलाचन्, तमुह्युल छोंजधी गुरुङ्ग राष्ट्रिय परिषद् रुपन्देहीका अध्यक्ष राम बहादुर गुरुङ्ग, नेपाल आदिवासी जनजाति महासंघ देवदह नगर परिषद् अध्यक्ष मीना श्रेष्ठ लगायतले बोल्दै आदिवासी जनजाति समुदायलाई सशक्तिकरण र उनीहरुका सवालहरुलाई स्थापित गर्नका लागि दीगो रुपमा मिडियालाई सहि ढंगबाट परिचालन गर्न आवश्यक रहेको औल्याएका थिए । कार्यक्रम फोनिज रुपन्देही उपाध्यक्ष राज चौधरीको स्वागत तथा सचिव आकृति थापामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।