दाङ, ६ असार । मगर समुदायको मौलिक र सांस्कृतिक पर्व नाम्क अर्थात भूम्या पर्वको अवसरमा गत सोमबारदेखि दाङको श्रीचौरमा सुरु भएकोे प्रथम भूम्या महोत्सव शुक्रबार सकिएको छ । लुम्बिनी प्रदेश प्रमूख कृष्ण बहादुर घर्तीमगरले एक समारोहका बीच महोत्सवको समापन गर्नुभयो । कार्यक्रमको समापन समारोहमा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमूख घर्तीमगरले मगर समुदायको उन्नतीमा योगदान पुर्याउने अग्रजहरुलाई बिर्सन नहुने बताउनु भएको छ । प्रथम शहीद लखन थापा मगर लगायत शहीदहरुको योगदानको चर्चा गर्दै उहाँले इतिहासलाई कहिल्यै नभुल्न आग्रह गर्नुभएको हो ।
नेपाल मगर संघ लुम्बिनी प्रदेशको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको महोत्सवमा मगर समुदायका विभिन्न सवालहरुमा अन्तरक्रिया सहित मौलिक नाच, खानाका परिकार र परम्परागत कलाहरु प्रस्तुत गरिएको नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य लाल बहादुर थापाले जानकारी दिनुभयो ।
महोत्सवमा मगर समुदायको साझा घर निर्माणका लागि आर्थिक सहयोग गर्ने दानदाताहरुलाई समेत सम्मान गरिएको थियो । मगर समुदायले असारको पहिलो दिन भूमिलाई पुजनगरि मनाइने यस पर्वको यो वर्षदेखि महोत्सवको रुपमा आयोजना गरिएको नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष खलुप्रसाद पुनमगरले जानकारी दिनुभयो । प्रथम भूम्या महोत्सवको नेपाल मगर संघ राप्ती गाउँपालिका सहआयोजक रहेको थियो । यसअघि असार एक गते महोत्सवको पूर्वअर्थमन्त्री तथा सांसद वर्षमान पुनमगरले एक समारोहका बीच उद्घाटन् गर्नुभएको थियो ।



