‘प्रथम भूम्या महोत्सव’ सुरु पूर्व अर्थमन्त्री पुनद्वारा उद्घाटन्‌

‘प्रथम भूम्या महोत्सव’

दाङ, २ असार । मगर समुदायको मौलिक र सांस्कृतिक पर्व नाम्क अर्थात भूम्या पर्वको अवसरमा आयोजित प्रथम भूम्या महोत्सव सोमबारदेखि दाङको श्रीचौरमा सुरु भएकोे छ । महोत्सवको पूर्वअर्थमन्त्री तथा सांसद वर्षमान पुनमगरले एक समारोहका बीच उद्घाटन् गर्नुभएको छ । नेपाल मगर संघ लुम्बिनी प्रदेशको आयोजनामा पाँच दिनसम्म चल्ने महोत्सवको उद्घाटन् गर्दै पूर्वअर्थमन्त्री पुनले यहाँको विविधता र बहुलतालाई राज्यले अपनत्व ग्रहण गर्न नसकेको बताउँदै यसलाई आत्मसाथ गरेर अगाडि बढ्न सक्नुपर्ने बताउनु भएको छ । नयाँको नाममा पुराना संस्कार र उपलब्धीलाई भत्काउने प्रवृत्ति हावी भइरहेको समयमा स्थानीय सबै समुदायको भाषा र पुराना संस्कृतिको संरक्षण र सम्बद्र्धन आवश्यक रहेको उहाँले बताउनु भएको हो । कार्यक्रममा बोल्दै पुनले स्थानीय ज्ञान, सीप र परम्परा राज्यको सम्पत्ती भएको बताउँदै यसको संरक्षण र प्रवद्र्धनको जिम्मा जति समुदायको छ उतिकै राज्यभएको बताउनुभयो ।
सो अवसरमा नेपाल मगर महासंघका अध्यक्ष नविन रोकामगर, नेपाल मगर संघका केन्द्रीय भाषिक उपाध्यक्ष जीवन प्रवेश रोकामगर, लुम्बिनी प्रदेश सभा सदस्य माया पुन, नेपाल आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश अध्यक्ष जीतु तरामुमगर, नेपाल मगर संघ लुम्बिनी प्रदेश समिति सल्लाहकार गम बहादुर थापा लगायतले बोल्नु भएको थियो । पाँच दिनसम्म चल्ने महोत्सवमा स्थानीय मगर समुदायका परिकार, प्रथाजनित परम्परा, संस्कार लगायत विभिन्न विषयमा अन्तरक्रिया तथा छलफल गरिने आयोजक नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष खलुप्रसाद पुनमगरले जानकारी दिनुभयो । सो अवसरमा मगर समुदायको साझा घर निर्माणका लागि आर्थिक सहयोग गर्ने दानदाताहरुलाई समेत सम्मान गरिएको थियो । मगर समुदायले असारको पहिलो दिन भूमिलाई पुजनगरि मनाइने यस पर्वको यो वर्षदेखि महोत्सवको रुपमा आयोजना गरिएको हो । प्रथम भूम्या महोत्सवको नेपाल मगर संघ राप्ती गाउँपालिका सहआयोजक रहेको छ । आयोजकका अनुसार महोत्सव असार पाँच गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस !