मगर भाषा तालिम सञ्चालन, नगरप्रमूख पाण्डेयद्वारा उद्घाटन्

समाचार

बुटवल ३१, बैशाख । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले मगर भाषाको तालिम सञ्चालन गरेको छ । मगर भाषा तालिमको बिहीबार एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमूख खेलराज पाण्डेयले उद्घाटन् गर्नुभयो । मगर भाषा तालिमको उद्घाटन गर्नुहुँदै नगरप्रमूख खेलराज पाण्डेयले कुनै पनि जातिको अस्तित्व भाषासंग जोडिएकाले जातिको अस्तित्व रक्षाका लागि भाषा जीवित हुनुपर्ने बताउनु भएको छ ।

भाषाको सम्बन्ध संस्कार, सस्कृति र जातिका मौलिक चाडपर्वसंग जोडिने भएकाले यि सबै अस्तित्वका लागि प्रमूख रुपमा भाषालाई बचाउन र संरक्षण गर्नुपर्ने बताउनुभयो । विभिन्न समुदाय र तिनका भाषा राज्यको सम्पत्ती भएको बताउँदैे यसको संरक्षण गर्ने दायित्व सम्बन्धित समुदाय र राज्यको भएको नगरप्रमूख पाण्डेयको भनाई छ । यि सबै कुरालाई बुझेर बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै जाति समुदायका भाषा लगायत मगर सुमदायको पनि भाषा संरक्षण र प्रवद्र्धन गर्न आवश्यक ठानेको बताउनु भयो ।सो अवसरमा नेपाल मगर संघका केन्द्रीय उपमहासचिव कमला थापामगरले मगर भाषालाई जीवित राख्नका लागि मगर समुदाय र सरकारले भाषा दैनिक रुपमा प्रयोगमा आउने, जीवनसंग जोडिने गरि नीतिगत व्यवस्था गर्नुपर्ने खाँचो औल्याउँनु भएको छ । यसैगरि कार्यक्रमका अर्का वक्ता नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष थर्क बहादुर बारघरेले भाषा संरक्षणका लागि तत्काल र दिर्घकालिन योजना र हरेक मगर समुदायका घरमा भाषालाई आवश्यक्ताका रुपमा जोडेर लैजानुपर्ने बताउनु भएको छ । कार्यक्रममा नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य वर्ण बहादुर राना, नेपाल मगर संघ बुटवल उपमहानगर समितिका निवर्तमान अध्यक्ष बसन्ती साठिघरे मगर, पूर्व अध्यक्ष गोपाल बहादुर चोहान मगर, मगर संघ बुटवल वडा नं ४ का अध्यक्ष श्याम बहादुर रानामगर लगायतले बोल्नु भएको थियो ।

 

नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष लुम बहादुर सारुमगरको अध्यक्षतामा भएको कार्यक्रम संघका उपाध्यक्ष हेमन्त बुढाथोकीमगरको स्वागत तथा सचिव खिमा रानामगरको सञ्चालनमा सम्पन्न भएको थियो । बुटवल उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालयको सहकार्यमा सञ्चालित भाषा प्रशिक्षण तालिम एक महिनासम्म सञ्चालन हुने छ । तालिममा बुटवलका १९ वटै वडाका करिब ७० जना प्रशिक्षार्थीहरु सहभागी रहेका कोषाध्यक्ष निरञ्जन थापा मगरले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस !