बुटवलमा सम्पन्न राष्ट्रिय सञ्चार सम्मेलनद्वारा १५ बुँदे घोषणापत्र जारी

बुटवल, वैशाख २८ । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा सम्पन्न ‘मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन २०८३’ ले प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार, सञ्चार क्षेत्रको संरक्षण तथा प्रवद्र्धन लगायतका विषय समेटिएको १५ बुँदे बुटवल घोषणापत्र जारी गरेको छ ।
वैशाख २६, २७ र २८ गतेगरि तीन दिनसम्म आयोजित सम्मेलनले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता तथा पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, प्रवद्र्धन र पालना गर्न महासंघ प्रतिबद्ध रहेको जनाएको छ । सम्मेलनले लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, जवाफदेही शासन प्रणाली र प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
घोषणापत्रमार्फत श्रमजीवी पत्रकार ऐन तथा सूचनाको हकसम्बन्धी कानुन प्रभावकारी कार्यान्वयन गर्न जोड दिँदै न्यूनतम पारिश्रमिक पूर्णरुपमा लागू गर्न सरकार र सञ्चारगृहलाई आग्रह गरिएको छ । साथै, सञ्चारगृहलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन बाध्यकारी कानुनी व्यवस्था गर्न तथा पत्रकारहरूको पारिश्रमिक समयानुकूल वृद्धि गर्न माग गरिएको छ ।
सम्मेलनले संघीयता कार्यान्वयन भएको लामो समय बितिसक्दा पनि प्रदेश तथा स्थानीय तहले सञ्चारसम्बन्धी आवश्यक कानुन निर्माणमा चासो नदिएको उल्लेख गर्दै सरोकारवालासँग पर्याप्त छलफल गरी आवश्यक कानुन बनाउन माग गरेको छ ।
सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन तथा प्रसारण गर्ने निर्णयप्रति सम्मेलनले गम्भीर असहमति जनाएको छ । यस्तो निर्णय संविधान, कानुन, खुला बजार अर्थनीति र संघीयताको मर्मविपरीत भएको ठहर गर्दै तत्काल फिर्ता लिन माग गरिएको छ । सम्मेलनले उक्त निर्णयले निजी तथा सामुदायिक सञ्चारमाध्यम आर्थिक रूपमा कमजोर बन्ने र सयौं पत्रकार तथा सञ्चारकर्मीको रोजगारी संकटमा पर्ने चेतावनी दिएको छ ।
घोषणापत्रमा सरकारी विज्ञापन वितरणलाई पारदर्शी, समानुपातिक र समावेशी बनाउन तथा निजी, सामुदायिक र सरकारी सबै सञ्चारमाध्यममा न्यायोचित रूपमा वितरण गर्न माग गरिएको छ । संकटग्रस्त सञ्चार क्षेत्रलाई संरक्षण गर्न दीर्घकालीन नीतिगत व्यवस्था आवश्यक रहेको सम्मेलनको निष्कर्ष छ ।
सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत फैलिने गलत र भ्रामक सूचनाले सञ्चार क्षेत्र तथा समाजमा नकारात्मक प्रभाव परेको उल्लेख गर्दै व्यवसायिक सञ्चारमाध्यमलाई प्रोत्साहन गर्न सम्मेलनले आग्रह गरेको छ ।

सम्मेलनले लुम्बिनी प्रदेश सरकारद्वारा गठित सञ्चार समन्वय परिषद्लाई प्रभावकारी बनाउन आवश्यक कानुनी व्यवस्था गर्न तथा यसअघि स्वीकृत सञ्चारसम्बन्धी कार्यक्रम, योजना र बजेट तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।
पत्रकारिता क्षेत्रको अध्ययन तथा अनुसन्धानलाई व्यवस्थित बनाउन बुटवलमा सञ्चार संग्रहालय स्थापना गर्न जोड गर्ने घोषणा पनि महासंघ रुपन्देहीले गरेको छ । संग्रहालयमा सञ्चार क्षेत्रसँग सम्बन्धित ऐतिहासिक दस्तावेज, सामग्री तथा अनुसन्धानमूलक सामग्री समावेश गरिने जनाइएको छ ।
त्यसैगरी सम्मेलनले भूमिहीन तथा सुकुम्बासीलाई वैकल्पिक व्यवस्था नगरी सार्वजनिक जग्गामा डोजर चलाएर विस्थापित गर्ने कार्य रोक्न सरकारसँग माग गरेको छ । रुपन्देहीको आर्थिक विकासका लागि निजी क्षेत्रको लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक कानुनी तथा प्रशासनिक व्यवस्था गर्न पनि आग्रह गरिएको छ ।
घोषणापत्रमा लुम्बिनी लगायत रुपन्देहीका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि विशेष योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकारसँग माग गरिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल संयोजकत्वमा रहेको घोषणा पत्र मस्यौदा समितिका सदस्यहरु शुक्ररिषी चौलागाईं, विनोद परियार, भरत केसी, कविन्द्र नेपाल, भगवती पाण्डे र विष्णु पोखरेलले घोषणा पत्र तयार पार्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस !