बुटवल, २२ वैशाख ।
शुभयात्रा नेपालको आयोजना, तिलोत्तमा नगरपालिका एवम् नगरको वडा नं १४ कार्यालयको सह आयोजना र देवदह मेडिकल कलेज देवदह रूपन्देहीको प्राविधिक सहयोगमा निःशुल्क क्यान्सर रोगको पहिचान र सचेतना शिविर टिकुलीगढमा सम्पन्न भएको छ ।
बिशेषगरी क्यान्सर रोगको पहिचान र सचेतना कार्यक्रम सहित सञ्चालित शिविरमा अन्य परामर्श सहित औषधि वितरण समेत गरिएको थियो । पाठेघर, स्तन, फोक्सो, प्रोष्टेट क्यान्सर सम्बन्धी परीक्षण तथा परामर्श प्रदान गरिएको कार्यक्रम संयोजक डा. नारायण जिसीले जानकारी दिनुभयो ।
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले शिविर उद्घाटन गर्दै समयमै रोग पहिचान र सचेतना अत्यन्त आवश्यक रहेको भन्दै यस्ता कार्यक्रमले समुदायमा ठुलो योगदान पुग्ने धारणा व्यक्त गर्नु भयो ।
सो अवसरमा शुभयात्रा नेपालका केन्द्रीय अध्यक्ष मधुसुदन गैह्रेले पञ्चसूत्रीय कार्य योजना, देवभुमि क्षेत्र गण्डकी, कर्णाली र कोशी विकास, सात प्रदेशमा एक एक वटा गौ निकुञ्ज, क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र, फोहरमुक्त नेपाल र पर्यटन विकासका योजनामा शुभयात्रा केन्द्रित भएको जानकारी दिनुभयो ।
विगत २८ बर्षदेखि समाजिक काम गर्दै आइरहेको शुभयात्रा नेपालले पर्यटकीय दृष्टिकोणले वालिङ नगरपालिका वडा नं १०, स्याङजामा बझाकोट पर्यटकीय मगर गाउँ होम स्टेको रुपमा विकसित गरि सकेको, आध्यात्मिक दृष्टिकोणले कालीगण्डकीको किनार गल्याङ वडा नं ९, हुँगीघाट देवभुमिमा देवकार्य, पितृकार्य र अन्त्यस्टिका लागि आवश्यक पुर्वाधार निर्माणका कामहरू गरेको केन्द्रीय अध्यक्ष गैह्रेले जानकारी दिनुभयो ।
शिविरमा स्थानीय सर्वसाधरणको उल्लेख्य सहभागिता रहेको थियो भने निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श सेवाबाट ३२० जना लाभान्वित भएका छन् ।
वडा न. १४ का वडा अध्यक्ष अश्विन पौडेलको सभापतित्वमा भएको कार्यक्रम शुभयात्रा नेपालका तिलोत्तमा संयोजक ईश्वरी पाण्डेले सञ्चालन गर्नुभएको थियो भने टिकुलीगढ संयोजक पुनम चौधरीले स्वागत गर्नु भएको थियो । तिलोत्तमा १३ का वडा अध्यक्ष नारायण ढकाल, देवदह मेडिकल कलेज कार्यक्रम कोडिनेटर हिरालाल धामी, डा. राजेश पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।




