११ मंसिर, बुटवल । आजभोली बिहान वा साँझको हिँडाई जसलाई हामी प्राय मर्निङ वाक भनेर बुझ्दछौं । नहिड्ने मानिस कमै होलान सायद् । कोही बाध्यताले हिड्छन त कोही रहरले । धेरैजसो मानिसहरु जो आफ्नो स्वास्थप्रति सजक हुन्छन् उनीहरु प्राय बिहानी हिँडाइमा निस्कन्छन् । रुपन्देहीमा भने कुनै पार्टीका नेताहरुले यो हिँडाइमा गज्जवको पार्टी निर्माण अभियान जोडेका छन् । हरेक दिन जुत्ता र ट्रयाकसुट लगाएका एक हुल मानिसहरु कुनै न कुनै चोकमा जम्मा हुन्छन् र हिडाइसंगै जनताका गुनासा र समस्याहरु पनि सुन्दै हिड्छन् । यसैबीचमा, जुत्ता र ट्रयाकसुट लगाएका एक हुल मानिसहरु नेपालगञ्ज रोडमा जम्मा हुन्छन् र त्यहाँका आफ्ना कार्यकर्ताहरुका साथ रोडबाट उत्तरपूर्वतर्फ अगाडि बढ्छन् । यो दृष्य हो बुधबार बिहान करिब ५ः३० बजेतीर सामूहिक रुपमा मर्निङ्ग वाकमा निस्केका विघटिट् नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको । उनीहरुको मर्निङ्गवाक टोली केहि छिनमा पीच सडक हुँदै सिद्धार्थ राजमार्ग हुँदै लक्ष्मीनगर गेटतर्फ अघि बढ्छन् र त्यहाँ पनि केहि कार्यकर्ता हिडाइमा जोडिन्छन् । त्यसपश्चात केहि समयको हिडाइ पश्चात सामूहिक हिडाइको टोली लक्ष्मी सामुदायिक विद्यालय नजिकै रहेको लक्ष्मीनगर स्थित पार्कमा पुग्छन् र त्यहाँ राखिएका व्यायामका सामग्रीका साथ शारीरिक अभ्यास गर्छन् । शारीरिक कसरतसंगै यस टोलीका प्रमूख नेतृत्वकर्ता नेपाली कम्युनिष्ट पार्टीका नेता नारायण जिसी (निर्मल) व्यायामका लागि आउनुभएका त्यहाँका स्थानीयसंग त्यस ठाउँका साझा समस्याका बारेमा सोधखोज गर्नुहुन्छ । अधिकांशको जवाफ र चासो भने एउटै हुन्छ, ‘लक्ष्मी नगरको पहिरो’को समस्या र समाधानका लागि सम्बन्धित निकाय र सरोकारवालाहरुलाई चासो बढाईदिन अनुरोध । प्रतिउत्तरमा पार्टी र आफुहरुको तर्फबाट समस्या समाधानका लागि सक्दो प्रयास र पैरवी गर्ने नेताहरुको प्रतिबद्धता ।
त्यसपश्चात केही समयको कसरत र हिडाइपछि मर्निङ्गवाकको टोली बुटवल जेसिस चोकमा आइपुग्छन् र पार्टी वडाको बन्दोबस्तीमा खाजाघरमा चिया पिउन रोकिन्छन् । चियाको चुस्कीसंगै नेताहरु त्यहाँका स्थानीय भक्त बस्नेतको गुनासो र समस्या सुन्न तयार हुन्छन् । लामो समयदेखि आफुहरु बस्दै आइरहेको ठाउँ र जग्गामा लालपूर्जा समस्या रहेको बस्नेत बताउनुहुन्छ । विभिन्न ठाउँमा समस्या राखिएपनि समस्याको हल नभएको उहाँको गुनासो थियो । नेता नारायण जिसीले उहाँको गुनासो सुनिसकेपछि समस्या समाधानको लागि पहिले पनि भक्त बस्नेतसंग सहकार्य र प्रयास गरिएको स्मरण गर्दै फेरी पनि लालपूर्जा र जग्गा स्वामित्वको समस्या समाधानका लागि आफुहरु पीडितको साथमा रहेको बताउनु भयो । साथै, आत्तिनहाल्न पनि उहाँको आश्वासन थियो ।

नेपालका कम्युनिष्ट पार्टीहरुका बीच हालैमात्र एकिकरण भएर बनेको नेपाली कम्युनिष्ट पार्टीको मूख्य घटक मध्ये एक साविक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समितिको निर्धारित योजना र कार्यक्रम अनुसार बिहानीको हिँडाईसंगैे नेता, कार्यकर्ता र स्थानीयजनतासंग भेटघाट अभियानले रुपन्देही जिल्लाका विभिन्न पालिका लगायत बुटवल उपमहानगर भित्र तिब्रता पाइरहेको जिसी बताउनुहुन्छ । सो अभियान अन्तर्गत मंसिर ९ गते बुटवल वडा नं २, मंसिर १० गते वडा नं ४, मंसिर ११ गते बुटवल वडा नं ३ गोलपार्कमा बिहानीको हिडाईसंगै स्थानीय जनता र नेताकार्यकर्ताका बीचमा भेट्घाट गरिएको नेकपा (माओवादी केन्द्र) रुपन्देहीका पूर्व जिल्ला संयोजक रहनुभएका नेपाली कम्युनिष्ट पार्टीका नेता नारायण जिसी (निर्मल)ले जानकारी दिनुभयो । यसअघि बुटवलका विभिन्न वडा र अन्य पालिकाहरुमा सञ्चालन भइरहेको मर्निङ्ग वाक अभियान जारी रहने बताउँदै जिसीले अभियान मार्फत स्थानीय जनताका गुनासा सुन्न र भावना बुझ्न पाइएको बताउनुभयो । बुटवलका धेरै वडाहरुमा जग्गा र अव्यवस्थित बसोबास सम्बन्धि समस्या, विकास र ढिसासुस्तीको गुनासो आएको र यसको समस्या समाधानका लागि पार्टीको तर्फबाट योजना बनाएर अघि बढ्ने तयारी गरिएको जिसीको भनाई छ ।
पार्टीले बिहानीको हिडाई (मर्निङ्ग वाक) को गतिसंगै पार्टीको अभियान तथा नेता र पार्टीकार्यकर्ताका बीचमा भेट्घाट तथा छलफललाई निरन्तर अगाडि बढाइरने बताइएको छ । बिहानको मर्निङ्गवाक पनि हुने र नेता र कार्यकर्ताका बीचमा पनि भेट्घाट र छलफल हुने भएकाले जिल्लाका विभिन्न पालिकाहरुमा वडागत रुपमा केहि महिनादेखि भेट्घाट र छलफल नौलो रुपमा गर्ने गरिएको नेता जिसीले जानकारी दिनुभयो । मंगलबार पनि बुटवल फुलबारीमा मर्निंङ्गवाकसंगै त्यहाँका स्थानीय तथा नेताहरुसंग भेट्घाट र छलफल गरिएको र यसबाट स्थानीयका समस्या सम्बन्धमा नेताकार्यकर्ताहरुले जानकारी लिने कार्य भएको नेताहरुको भनाई छ । हालको नेपाली कम्युनिष्ट पार्टी तथा विघटिट् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरु रामु परियार, सुजित विक, रिज्जु श्रेष्ठ, क्षितिज, महेन्द्र भूषाल लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागितामा मर्निङ्गवाक चलिरहेको पार्टीले जानकारी दिएको छ । यसअगाडि पार्टीले बुटवल उपमहानगर तिनाउ पारिका वडा नं १९, वडा नं १२, वडा नं १४ लगायत अन्य वडाहरुमा समेत मर्निङ्गवाक र छलफल गरिसकेको बताइएको छ ।




