गोरे बहादुर खपाङ्गी मगरका विचारमाथि विज्ञहरुको मन्थन

गोरे बहादुर खपाङ्गी मगर स्मृति दिवस
gore bahadur foundation programmee in bhairahawa, by sanu thapa

 

११ भदौं, बुटवल । पूर्व मन्त्री एवं राजनीतिज्ञ दिवंगत गोरेबहादुर खपाङ्गीमगरको नवौं स्मृति दिवसको अवसरमा खपाङ्गीको विचार र धारणाका सम्बन्धमा मन्थन गरिएको छ । गोरे बहादुर खपाङ्गी मगर फाउन्डेशनको आयोजनामा बुधबार भैरहवामा राजनीतिज्ञ, साहित्यकार र बुद्धिजीवीहरुका बीचमा कार्यक्रम गरिएको हो । गोरे बहादुर खपाङ्गीमगरले समाज परिवर्तन र समुदाय उत्थानका लागि हिजोको दिनमा राखेका विचारहरु, गरेका कार्यहरु आजको दिनमा राष्ट्रिय रुपमा उत्तिकै महत्व रहेको वक्ताहरुले बताएका छन् । गोरे बहादुर खपाङ्गी मगरले उठाएका समानुपातिक समावेशीता, धर्मनिरपेक्षता र संघीयता जस्ता मुद्दाहरुमा आज राष्ट्र नै हिडिरहेको सन्दर्भमा हिजोको दिनमा यस्ता मुद्दाहरुलाई जनतामा बुझाउने र जनताका बीचमा लैजाने कार्य गोरे बहादुर खपाङ्गी मगरले सुरुवात गर्नुले उनको दुरदर्शीता र बहुजातीय समाजको ज्ञानलाई सामान्य मान्न नसकिने उनीहरुको भनाई थियो । सो अवसरमा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केशब सुर्यबंशी मगरले गोरे बहादुर खपाङ्गी मगरका केहि महत्वपूर्ण विचार र मार्गदर्शनले गर्दा आफ्नो राजनीतिक यात्रा सुरुवात गर्ने प्रेरणा मिलेको बताए । गोरे बहादुर खपाङ्गी मगरको समाजवादोन्मूख विचार र मार्गदर्शनलाई पूँजीको रुपमा अहिलेका युवाहरुमा हस्तान्तरण र बहसमा ल्याउन जरुरी रहेकोमा उनले जोड दिए ।

सो अवसरमा अर्का वक्ता नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफु जस्ता विद्रोही चेत भएका नेताहरु जन्मनुमा गोरे बहादुर खपाङ्गी जस्ता पहिचानवादी चेत भएका नेताहरुको भूमिका महत्वपूर्ण रहेको बताए । पहिचानका मुद्दाहरु खपाङ्गीहरुले नगरेका भए पहिचानका आन्दोलनहरु चाँडै उचाईमा पुग्ने संभावना न्युन हुने कुरामा कुनै शंका गर्न नपर्ने उनको सार थियो । नेपाल विविधता रहेको मूलुक भएकाले यहाँको विविधताको सम्बोधन बिना देशको समृद्धि कल्पना गर्न नसकिने उनको तर्क थियो । शासक वर्गले पहिचान र अन्य मानिसहरुको अस्तित्व स्वीकार गर्न नसक्दा देश समस्यामा रहेको उनको भनाई थियो । सहअस्तित्वको कुरा आफुहरुले गरेको भन्दै एक अर्काको भाषा, संस्कार र सस्कृतिलाई सबैले सम्मान गर्नुपर्ने उनले बताए ।

फाउनडेशनका सदस्य लोकनेश ढेङ्गामगरको अध्यक्षता तथा राम अस्लामीको सञ्चालनमा भएको कार्यक्रममा साहित्यकार वनमाली निराकार, साहित्यकार रुद्र ज्ञवाली लगायतले आफ्नो धारणा राख्दै गोरे बहादुर खपाङ्गी विचारले कुनै जाती वा समुदायलाई गाली गर्ने नभई समाजको सामन्तवाद र ब्र्राम्हणवाद प्रवृतिको विरोध गर्ने बताए । वि.स. २००३ सालमा जन्मिएका गोरे बहादुर खपाङ्गी मगरको वि.स. २०७३ सालमा ७० वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !