
बोधिखबर संवादाता
तिलोत्तमा, १० साउन ।
विधि र प्रक्रिया मिचेर तिलोत्तमा नगरपालिका–वडा नम्बर २ का वडाध्यक्षले स्थानीय फोहरमैला व्यवस्थापन उपभोक्ता समिति निर्माण गरेपछि विवाद चुलिएको छ । गठित समितिलाई अवैधानिक भन्दै टोल विकास संस्थाहरुले आपत्ति जनाएका छन् भने प्रक्रिया मिचेर बनाइएको समितिलाई पूर्णरुपले अस्वीकार गरेका छन् ।
टोलविकास संस्थाका प्रतिनिधिहरु समेत सहभागी भएर अधिवेशन मार्फत फोहरमैला व्यवस्थापन समिति निर्माण गर्नुपर्नेमा तिलोत्तमा–२ का वडाध्यक्ष डिलबहादुर भट्टराईले सर्वदलीय बैठक बोलाएर समिति निर्माण गरेपछि टोल विकास संस्थाहरुल आपत्ति जनाएका हुन् । उनीहरुले आफू अनुकलको व्यक्ति नेतृत्वमा ल्याउन दलीय आडमा वडाध्यक्ष भट्टराईले सर्वदलीय बैठकमार्फत समिति निर्माण गरेको भन्दै यो पूर्णतया अवैधानिक रहेको बताएका छन् ।
फोहोरमैला व्यवस्थापन उपभोक्ता समितिको अधिवेशन वडा कार्यालयले गत वैशाख १९ गते तय गरेको थियो । अधिवेशन सम्पन्न गर्न काँग्रेसका टेकबहादुर थापा संयोजक रहने गरी सहजीकरण समिति समेत बनेको थियो । उक्त अधिवेशनमा वडा नम्बर २ अन्तर्गत रहेका ११ वटा टोल विकास संस्थाहरुलाई ५–५ जनाका दरले प्रतिनिधिसहित उपस्थित हुन सूचना समेत जारी गरिएको थियो । टोल विकास संस्थाहरुले उक्त सूचनालाई आधार मान्दै वैशाख १९ गतेको साधारणसभा तथा अधिवेशनमा आफ्ना प्रतिनिधिहरुलाई अधिवेशनमा सहभागी गराए ।
त्यसपछि वडाध्यक्ष भट्टराईले आफू अनुकूलको व्यक्ति नेतृत्वमा आउने सम्भावना नदेखेपछि अधिवेशन स्थगीत गराएर साधारणसभा मात्रै गरेको टोल विकास संस्थाहरुको आरोप छ । त्यसपछि वडाध्यक्ष भट्टराईले जेठ मसान्तसम्म अधिवेशन गरिसक्छौं भनेर प्रतिवद्धता समेत जनाएका थिए ।
तर लामो समयसम्म अधिवेशन नगरी वडाध्यक्षले साउन ७ गते सर्वदलीय बैठक बोलाएर इन्द्रमणि अर्यालको अध्यक्षतामा ७ सदस्यीय फोहरमैला व्यवस्थापन उपभोक्ता समिति निर्माण गरे । टोल सञ्जालका कार्यवाहक अध्यक्ष नारायणप्रसाद चापागाईंले टोल विकास संस्थाका प्रतिनिधिको रोहवरमा अधिवेशन गर्नुपर्नेमा सर्वदलीय बैठकबाट समिति निर्माण गरिएको र त्यो आफूहरुलाई मान्य नभएको बताए । “हाम्रो भनाई नेतृत्वमा को आउँछ भन्ने कुरासँग सरोकार छैन, काम गर्ने र स्वच्छ छविको व्यक्ति आओस् भन्ने हो”–उनले भने–“तर विधी र प्रक्रिया मिचेर नेतृत्व चयन गरिएको कुरामा हाम्रो विरोध हो ।”
तर तिलोत्तमा–२ का वडाध्यक्ष डिलबहादुर भट्टराईले भने ६ वटा राजनीतिक दलको सहमतिमा समिति निर्माण गरिएको दावी गरे । वैशाख १९ गते टोल विकास संस्थाहरुलाई ५–५ जना प्रतिनिधिसहित अधिवेशनमा उपस्थित हुन भनेकोमा टोल विकास संस्थाहरुले समावेशी प्रतिनिधित्व नगराई आफू अनुकूलका प्रतिनिधि पठाएपछि आफूले अधिवेशन स्थगीत गराएको उनले बताए ।
तिलोत्तमा नगरपालिकाका १७ वटा वडामध्ये वडा नम्बर २ मा मात्रै २०७६ सालदेखि वडास्तरीय फोहरमैला व्यवस्थापन उपभोक्ता समिति बनेको छ । तत्कालीन वडाध्यक्ष दधिराम गौतमको पालामा स्थानीय फोहरमैला व्यवस्थापन समिति बनेको थियो । अन्य वडाहरुमा नगरपालिकाले फोहर व्यवस्थापन गर्दै आए पनि वडा नम्बर २ मा भने उपभोक्ताकै सक्रियतामा स्थानीय टोल विकास संस्थामार्फत फोहर व्यवस्थापनको काम भैरहेको छ । तर पछिल्लो समय फोहरमैला व्यवस्थापन उपसमितिका पदाधिकारीमाथि टोल विकास संस्थाहरुले आर्थिक अनियमितताको समेत आशंका गर्दै आएका छन् ।
“टोल विकास संस्थामा बजेट वृद्धि हुन थालेपछि नेतृत्वमा पनि दलीय हानथाप हुन थालेको छ, यसबाट कतै आर्थिक अनियमितता त छैन भन्ने् आशंका जन्माएको छ”–टोल विकास संस्थाका एक पदाधिकारीले भने ।